धनगढी। प्रेस चौतारी नेपालले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला जिल्लामा बिशेष कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश कमिटीदेखि जिल्ला समितिले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी आफ्नो २५औं स्थापना दिवस मनाएको हो ।
सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको कार्यक्रम
सुदूरपश्चिम प्रदेश समितिले कैलालीको धनगढीमा पत्रकारीताका अवसर र चुनौती विषयक विचार गोष्ठीको आयोजना गरेको छ । कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक भुवन भण्डारीले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रदेश अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा भएको गोष्ठीमा प्रदेशका विना विभागीय मन्त्री सन्तोष थापा शर्माको प्रमुख अथिति रहनु भएको थियो ।
उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव, हेमकर्ण विक, प्रदेश अध्यक्ष योगेश रावल, पुर्व केन्द्रिय सदस्यहरु प्रकाश विक्रम शाह र कर्ण शाह, प्रेस चौतारीका केन्द्रिय सदस्यहरु करन ताम्राकार र सुशील ढुंगाना, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमाल जोशी, बानका उपाध्यक्ष गोविन्द रोस्यारा र प्रदेश अध्यक्ष अमिता कुवर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कैलाली
प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति कैलालीले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रीत बालबालिकालाई सहयोग गरेको हो । आइतबार नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री (कापी, कलम) सहयोग स्वरुप प्रदान गरेको हो । संस्थाका अध्यक्ष मनोज अचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यावद ज्ञापन गर्नुभयो ।
कञ्चनपुर
प्रेस चौतारी नेपालको कञ्चनपुर शाखाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार विभिन्न कार्यक्रम गरि शाखाले आफ्नो २५ औँ स्थापना दिवस मनाएको हो । एमाले निकट पत्रकार संगठनले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारसँग सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत अवस्थाबारे छलफल गरेको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न पत्रकार संघ संगठनका प्रतिनिधी एवं पत्रकारले कोरोना महामारीपछि मिडिया क्षेत्रमा आएको समस्याबारे चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशीले पत्रकार आचारसंहिता पालनामा जोड दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले कोरोना संक्रमणपछि मिडिया क्षेत्र आर्थिक रुपमा समस्याग्रस्त भएको उल्लेख गर्नुभयो । त्यस्तै अग्रज पत्रकार चित्राङ्ग थापाले पत्रकारको हकहितमा बलियो मिडिया नीति आवश्यक रहेको औल्याउनु भयो । उहाँले पछिल्लो समय पत्रकारीता सहज भएपनि यसलाई व्यवसायिक र मर्यादित बनाउन चुनौतीपुर्ण रहेका बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष तथा अकोर्यावका बरिष्ठ उपाध्यक्ष विष्णुदक्त अवस्थीले कोरोना संक्रमणपछि मिडिया हाउस चलाउनै समस्या भएको बताउनु भयो । उहाँले निजी क्षेत्रको विज्ञापनमा कटौतीसँगै सरकारी विज्ञापनको समान वितरण नहुदाँ सञ्चारमाध्यम धरासायी बन्दै गएको बताउनु भयो । साथै विज्ञापन वितरण प्रणालिमा एकरुपता ल्याउनु पर्ने उहाँको सुझाव थियो ।
त्यस्तै पत्रकार शेरबहादुर सिंहले पनि पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन चुनौती थपिदैँ गएकाले यसमा संगठनहरुले पनि जिम्मेवार भएर सोच्नुपर्ने बताउनु भयो । प्रेस चौतारी कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मणदत्त पन्तले दिवसको अवसरमा पत्रकार भेटघाटसँगै सामुहिक मुद्धामा छलफल गरिएको बताउनु भयो । साथै संगठनले पेशागत हकहितका प्रतिवद्ध रहेको समेत उहाँले बताउनु भयो ।
अनाथालयमा फलफुल र शैक्षिक सामाग्री वितरण
स्थापना दिवसमा कञ्चनपुर शाखाले महेन्द्रनगरस्थि समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल र शैक्षीक सामाग्री वितरण गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुलसँगै शैक्षिक सामाग्री वितरण गरिएको प्रेस चौतारी कञ्चनपुरका सचिव मदन गिरीले बताउनु भयो ।
डडेल्धुरा
प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराले २५ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा डडेल्धुरा शाखाले डडेल्धुरा जिल्ला स्थीत रहेको डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण, अमरगढी नगरपालिका ७ मा रहेको बेथस्दा बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्ला शाखा डडेल्धुराले बिरामीलाई फलफूल वितरण गरेको प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझाले बताउनु भयो ।
नेपाली श्रमजीवी पत्रकारहरुको छाता संगठन र अगुवा संगठन प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारहरुको हकहित मात्र नभई सर्बहारा बर्गको आवाज, हकहितका मुद्दाहरुलाई कलममार्फत उठानका निमित्त स्थापित भएको संगठन प्रेस चौतारी नेपाल आफ्नो उदेश्यमा दृढ रहेको प्रेस चौतारी नेपालका केन्दीय सदस्य मानबहादुर साउँदले बताए ।
अमरगढी नगरपालिकाका निबर्तमान नगरप्रमुख बिपिन ओझाले प्रेस चौतारीको काम पंसंसनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यमलाई विश्वमा सबैभन्दा प्रभावशाली अस्त्रका रूपमा लिइन्छ । यसलाई सरकारको चौथो अंगको रूपमा पनि लिइन्छ । यसले राज्य र सरकारले गरेका गलत कार्यमाथि प्रश्न उठाउने, खबरदारी गर्ने र त्यसलाई सच्याउने हदसम्म पुर्याउँछ । समग्र मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि, हरेक क्षेत्रको बिकासका लागि मिडियाको अहम भुमिका रहेको छ, प्रेस चौतारी त्यो काममा सफल छ ।’
नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले संबिधानले प्रदत्त गरेका नागरिका मौलिक हकहरुमा नै जनताहरु अनबिज्ञ रहेको अवस्थामा आमनागरिकलाई आफ्ना हकहरु सुनिश्चित गर्नका लागि मिडियाहरुले अहम भुमिका खेल्नुपर्ने बताउनु भयो ।
यस्तै डडेल्धुरा अस्पताललाईनै मेडीकल कलेजको रुपमा संचालन गर्दा आवश्यक पर्ने पुर्वाधारहरुका बारेमा समेत सरोकारवाला निकाय संग छलफल गरिराखेको अवस्थामा मेडीकल कलेजको स्थापनाका लागि मिडियाको निकै भुमिका आवश्यक पर्ने डडेल्धुरा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष करुणकर ओझाले बताउनु भयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष धन बहादुर धामि (बिबेक) ले अन्याय र अत्याचारमा रहेका जनसमुदायका सवालहरु उठानमा अझै शसक्तरुपमा लागि पर्नू पर्ने बताउनु भयो । कार्यक्रममा प्रेस चौतारीका सदस्यसहित डडेल्धुरा जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
दार्चुला
प्रेस चौतारी नेपालको २५ सौँ स्थापना दिवस दार्चुलामा पनि भव्यताका साथ मनाइएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल दार्चुला शाखाले प्रेस चौतारी दार्चुलाको संस्थापक हुँदै विभिन्न जिम्मेवारी निर्वाह गरेर अहिले स्थानीय तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधिलाई सम्मान, जनप्रतिनिधिसंग चौतारी संवाद र वादी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
प्रेस चौतारीका संस्थापक समेत रहनुभएका मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी र प्रेस चौतारीमा आवद्ध हुँदै मार्मा गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा निर्वाचित सन्तोषसिंह कोट्टारीलाई सम्मान गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा चौतारी संवाद औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा पिछडिएको वादी समुदायका आठ जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । गोकुलेश्वरमा अद्ययनरत कक्षा ६ देखि १२ सम्मका आठ जना वादी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको प्रेस चौतारी नेपाल दार्चुलाका सचिव रमेशसिंह खत्रीले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लालबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य एबं प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह धामी, नेकपा एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रेस चौतारी नेपाल प्रदेश समिति सचिव नरेन्द्रसिंह कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, शैल्यशिखर नगरउपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य पदमराज जोशी, जिल्ला अध्यक्ष मनोरथ जोशी लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक समेत रहनुभएका प्रेस चौतारी नेपालका सदस्य एबं पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले जानकारी दिनुभयो ।
बाजुरा
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चौतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेको छ । समृद्धीका लागि सचारकर्म प्रेस चौतारीको मुल मर्म भन्ने मुला नाराका साथ आयोजित स्थापना दिवसको अवसरमा २ पत्रकारलाइ समेत सम्मान गरेको प्रेस चौतारी नेपाल बाजुरा शाखा सदस्य युवराव बडुवाले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद वि.क. स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली र जिल्ला सदस्य तथा रेडियो बाजुरामा कार्यरत पत्रकार सरिता नेपालीलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विकले बताउनु भयो । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका ओली र नेपालीलाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरेको प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकले जानकारी दिनुभयो ।
आइतबार बिहान जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल वितरण तथा दिउसो जनप्रतिनधिहरु संग चौतारी बहस संगै बिबिध कार्यक्रम सगै कृयाशिल पत्रकार वली र नेपालीलाई सम्मान गर्नुका साथै जन प्रतिनधीसंग चौतारी बहस कार्यक्रम गरी मनाएको छ ।
प्रेस चौतारी बाजुराको सचिवालयको बैठकले छनोट गरेर ओली र नेपाली सम्मान सहित पुरस्कार दिने निर्णय गरेको थियो । प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथी हुनुहुन्थ्यो ।
स्थापना दिवसमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत रोकाया,जिल्ला कमिटी सदस्य रामबहादुर बानियाँ,तुलसीराम रोकाया,अमर खड्का,रामबहादुर बोहरा, प्रेस चौतारी केन्द्रीय सदस्य बसन्त बिश्वकर्मालगायतले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै सदस्य सरिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रमित विश्वकर्माले गर्नुभएको थियो ।
बैतडी
प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा खान नपाएर भोकै बसेका घरपरिवार र बालकालिकालाई खाद्यान्न, लुगाकपडा,कापीकलम र सोलार टुकी वितरण गरिएको छ । दिवसको अवसर पारेर बैतडीका सञ्चारकर्मीले खाजा खर्च कटाएर उक्त सहयोग गरेका हुन् ।
बैतडीको दशरथचन्द नगरपालिका–८, सिमलेक गाउँ नजिकैको छाप्रोमा बस्दै आएका गोपाल महर, सरिता महर र उहाँका दुई बालिकालिकाका पशुचौपायासहित छाप्रोमा बस्दै आईरहेका छन् । छाप्रोको एउटा कुनामा पशुचौपाया छन भने अर्को कुनामा महर परिवार भोकभोकै चिसो भूँइमा बसिरहेका छन् । खाद्यान्न, बिजुली, पानीको धारा र लुगाकपडा जस्तो आधारभूत कुरासमेत नहुँदा आठ वर्ष र पाँच वर्षका बालबालिकाको अवस्था दयनीय रहेको छ । समाचार सङ्कलनका क्रममा गाउँ पुग्दा निकै दर्दनाक पीडा देखेपछि परिवारलाई करिब २० हजार रुपियाँ बराबरमो खाद्यान्न सहयोग गरेको प्रेस चौतारी बैतडीका इन्चार्ज एवं केन्द्रीय सदस्य लोकेश साउदले बताउनुभयो ।
खाद्यान्न र लुगाकपडाका लागि गोरखापत्रकर्मी गोकर्ण दयाल, पत्रकार लोकेश साउद, नरी बडू, सुरेश अवस्थीले खाद्यान्न सहयोग, आर्थिक सहयोगमा नरेन्द्र अवस्थी, आनन्द थापा, सम्राट चन्द, स्थानीय केवुल नेटर्क व्यवसायी दानसिंह थापाले पाँचहजार रुपियाँ, ग्वाल्लेक फेन्सी स्टोरले लुगाकपडा, डिएन सुज सेन्टरले जुत्ता, चप्पल, पुष्पाजली बिजुली भण्डारले सोलार टुकी र समाजसेवी गोविन्दराज जोशीले कम्बल र बाल्टी उपलब्ध गराउनु भएको हो ।
सञ्चारकर्मीको अगुवाईमा जुटेको खाद्यान्न र सहयोग सामग्री दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) मार्फत हस्तान्तरण गरिएको छ । महर परिवारलाई वितरण गरिएका समाग्री र वस्तुमा एक क्विन्टल गहुँ, ५० किलो चामल, पाँच लिटर खानेतेल, पाँच किलो दाल, ओढ्ने कम्बल, बिछ्याउने म्याट, बाल्टी, जुत्ता चपप्प, कापीकलम , उज्यालोका लागि सोलार टुकी र लुगाकपडा रहेका छन् ।
सायोग हस्तान्तरण कार्यक्रममा बोल्दै दशरथचन्द नगरपाकिलाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले नगरपालिकाबाट महर परिवारका लागि व्यवस्थित घर, पानीको धारा र पशुचौपायाका लागि गोठ निर्माण गर्न सहयोग गर्ने बताउनुभयो । खाद्यान्न वितरणपछि नगप्रमुख जोशीले बालबालिका अध्ययन गर्ने विद्यालयमै पुगेर पढनपाठनका लागि नगरपालिकाबाट सम्पूर्ण सहयोग हुने बताउनुभयो ।