detail-img

भवन निर्माणमा पहिलो बन्यो प्रेस चौतारी चितवन, अध्यक्ष बस्नेतबाट शिलान्यास


चितवन । नेपाली श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आज प्रेस चौतारी चितवनको भवनको शिलान्यास गर्नुभएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ वसेनीमा प्रेस चौतारीको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो । प्रभु हाउजिग एण्ड प्रोर्पटी डिर्लस प्रालिका केशव कार्कीले चौतारीलाई झण्डै ७० लाख भन्दा बढी मुल्य पर्ने १० धुर जग्गा दान गर्नुभएको थियो ।

सो जग्गामा चौतारी चितवनले देशकै पहिलो भवन बनाउने काम अगाडि बढाएको चौतारी चितवनका अध्यक्ष पण्डितले बताउनु भयो । भवन शिलान्यास कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गणेश बस्नेतले चौतारीले देशकै पहिलो आफ्नो भवन बनाउन लागेकोमा खुुसी ब्यक्त गर्दै चौतारी केन्द्रका तर्फबाट सहयोग जुटाउन सक्दो पहल गर्ने बताउनु भयो ।

अध्यक्ष वस्नेतले नेपाली श्रमजीवी पत्रकारको हितरक्षा, आम सञ्चारसँग सम्बन्धित नीतिहरु निर्माणहरुको अगुवाई र पार्टी प्रचारको अभियानको नेतृत्व गरीरहेको चौतारीले भौतिक संरचना निर्माणलाई पनि अभियानको रुपमा चलाउने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, संगठनका महासचिव हिरामान लामा, सचिव तथा बागमति प्रदेश इञ्चार्ज विष्णु तारुके, पत्रकार महासंघका सचिव सिर्जना अर्याल, महासंघ चितवन अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

सो कार्यक्रममा नेकपा एमाले चितवन अध्यक्ष न्यौपानेले पार्टीका तर्फबाट १ लाख १ हजार २१, संगठनका अध्यक्ष बस्नेतले ५० हजार ५ सय ५५, संगठनका निर्वाचन आयोग उपाध्यक्ष नवराज ढकालले ५० हजार, व्यवसायी बचन कार्कीले ५५ हजार ५ सय ५५ र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले एक ट्रिप ढुंगा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

साढे ३ तले भवनको कुल लागत १ करोड ३० लाख रहेको छ । भवनको भुईं तलामा कार्यालय भवन, दोस्रो तलामा हल, तेस्रो तलामा आवासीय कोठा र त्यसमाथि किचनसहितको संरचना रहने संगठनका चितवन अध्यक्ष पण्डितले जानकारी दिनुभयो । प्रेस चौतारी चितवनले भवन निर्माणमा आर्थिक सहयोग जुटाउन गत कार्तिक ४ गते वृहत सांस्कृतिक तथा सांगितिक साँझको आयोजना गरेको थियो । भवन निर्माणका लागि ठेक्का सम्झौता भईं निर्माण कार्य अगाडि बढेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिनुभयो । २०८० सालभित्र भवन निर्माण गरिसक्ने लक्ष्यसहित थालिएको निर्माणमा सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष पण्डितले बताउनु भयो ।

भवन निर्माणका लागि अलग्गै खाता खोलेर विभिन्न समितिहरु गठन गरिएका छन् । भवन निर्माणका लागि शंकर अधिकारीको संयोजकत्वमा लेखा समिति, संस्थापक एवं पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष विष्णु छिमेकीको संयोजकत्वमा सल्लाहकार समिति, तिलकराम रिमालको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।