वीरगञ्ज । श्रमजीवी पत्रकारहरूको सबै भन्दा ठुलो संगठन प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशाला तथा केन्द्रीय समिति बैठक माघ २९ र फागुन १ गते वीरगञ्जमा सम्पन्न भएको छ ।
समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारी नेपालको मूल मर्म भन्ने मूल नाराका साथ कार्यशाला र बैठक सम्पन्न भएको हो । कार्यशालामा श्रमजीवी पत्रकारका समस्या, पार्टीको भूमिका र संगठन सुदृढीकरण लगायतका विषयमा छलफल भएको थियो ।
संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गर्नुभयो । कार्यशालामा केन्द्रीय कार्यालयले तयार गरेको अवधारणा पत्रमा समूहगत छलफल गरी निष्कर्षमा निकालिएको थियो । कार्यशालाले निकालेका निष्कर्षलाई कार्यान्वयनमा ल्याउने लगायतका निर्णय बैठकले गरेको छ ।
कार्यशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपमहासचिव तथा प्रेस चौतारीका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी र जनवर्गीय संगठनभित्र देखिएको व्यक्तिवादी अवसरवादको समूल अन्त्य गर्नुपर्ने बताउनुभयो । गुरुङले पार्टी भित्र देखिएको व्यक्तिवादी अवसरवादकै कारण गएको निर्वाचनमा एमालेले धेरै ठाउँमा पराजय भोग्नु परेको बताउनुभयो । यसको समीक्षा गरेर पार्टीले आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुरुङले कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ता जनतासँग जोडिनु पर्ने बताउनुभयो । पार्टी भित्रका समस्याको जरोसम्म पहिचान गरेर समाधानको उपाय खोज्नु पर्ने उहाँको भनाई छ । नेपालको कम्युनिष्ट पार्टीलाई अन्य देशको जस्तो होइन नेपालको जस्तै बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपाल कम्युनिष्ट पार्टीलाई नेपालकै कम्युनिष्ट पार्टी बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।
जनताबाट अनुमोदित भएको पार्टीले सरकार चलाउने र कार्यकर्ताबाट अनुमोदित भएको नेताले पार्टीले चलाउने कुरालाई बिर्सन नहुने उहाँले बताउनुभयो । क्याडर बेस पार्टीको पुरातन वादी सोच र मास बेस पार्टीको दलदलबाट एमाले माथि उठ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
अहिलेको सत्ता समीकरण कांग्रेसकै कारण बनेको पनि गुरुङले प्रष्ट पार्नुभयो । यदि माओवादीलाई पहिला प्रधानमन्त्री दिएको भए पुरानो सत्ता गठबन्धन नभत्किने उहाँले बताउनुभयो । कांग्रेसको अहंकारले पुरानो सत्ता गठबन्धन भत्किएको र नयाँ गठबन्धन बनेको उहाँको भनाइ थियो ।
एमाले र माओवादी बिच प्रधानमन्त्री र सभामुखमा आलोपालोमा सहमति भएको उहाँले बताउनभयो । माओवादीको प्रधानमन्त्री हुँदा एमालेको सभामुख र एमालेको प्रधानमन्त्री हुँदा माओवादीको सभामुख हुने सहमति भएको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रपति एमालेलाई दिने विषयमा दुई दल बिच पहिला नै सहमत भएको उहाँले प्रष्ट पार्नुभयो । अहिले अनावश्यक रूपमा नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको रटान रटिरहेको उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचनमा खेल्न सकिन्छ कि भनेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उहाँको भनाइ छ । ‘गठबन्धनको सहमति नै राष्ट्रिय सहमति हो, १ सय ६९ जनाको गठबन्धन आफैमा राष्ट्रिय सहमति हो’, उहाँले भन्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टी र जनवर्गीय संगठनका कमिटीहरू ठुला भन्दा पनि गुणस्तरीय हुनु पर्ने बताउनुभयो । ढकालले संगठन ठुला हुँदा पार्टी विधि र प्रणालीमा छलफल र निर्णय गर्ने कुराम कमी आउने बताउनुभयो । अब राजनीतिक पार्टी र जनवर्गीय संगठनको भूमिका फेरिएको उहाँले बताउनुभयो । ‘अब पुरानो हिसाबले चल्दैन, नयाँ भूमिका खोजौँ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै ढकालले पार्टी र हरेक जनवर्गीय संगठनका कार्यक्रम निर्धारित समयमा नै सुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रम तोकिएको समयमा आयोजक नपुग्ने, कार्यक्रम सकिने बेलासम्म पनि अतिथि पुग्ने गलत परम्परा तत्काल सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ढकालले तोकिएको समयमा नपुग्ने अतिथिलाई अतिथिको आसन ग्रहण नै नगराउने संस्कार सुरु गर्नुपर्ने बताउनुभयो । त्यो गरियो भने नेताहरू पनि समयमा नै कार्यक्रममा पुग्ने र समयको सही व्यवस्थापन हुने बताउनुभयो । यसो गरियो भने पार्टी र जनसंगठनमा आमूल परिवर्तन हुने उहाँले बताउनुभयो ।
ढकालले राष्ट्रपतिको निर्वाचन गठबन्धन दल बिचको सहमति नै अनुसार हुने पनि बताउनुभयो । ढकालले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने बताउँदै त्यो व्यक्ति को हो भन्ने विषयमा पार्टीले निर्णय गर्ने प्रष्ट पार्नुभयो । माओवादीले अहिलेसम्मका सबै काम राजनीतिक सहमति अनुसार नै गरेको उहाँले प्रष्ट पार्नुभयो ।
एमालेलाई झुक्याउन, अलमल्याउन र फसाउन सकिँदैन भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट रहेको उहाँले बताउनुभयो । माओवादीलाई तै झुक्याउन सकिन्छ कि भनेर कांग्रेसले शब्द जाल फालिरहेको र अनेक षडयन्त्र गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य एवं प्रेस चौतारीका सहइञ्चार्ज विष्णु रिजालले सञ्चार क्षेत्रको विस्तारसँगै चुनौती पनि बढ्दै गएको बताउनुभयो । सञ्चार क्षेत्रलाई पार्टीसँग जोड्न सकिएन भने पार्टी संगठन अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । लाखौँ मानिसलाई पार्टी संगठनसँग जोड्ने र पार्टीका सूचना पुर्याउने माध्यम सञ्चारमाध्यम बनेका रिजालले बताउनुभयो ।
पत्रकारहरू आफ्नो लेखाइबाट खारिनु पर्ने रिजालले बताउनुभयो । पेसागत सिप र क्षमतालाई स्थापित गर्न सकियो भने कुनै पार्टीको पक्ष लिनु नपर्नेमा रिजालले जोड दिनुभयो । सामाजिक समस्या उठाउँदा राजनीतिक विचार र विषय आफैँ उठ्ने उहाँले बताउनुभयो । अहिले सञ्चारमाध्यम खोलेर तिनै सञ्चार माध्यम मार्फत राजनीतिक दललाई आक्रमण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । एमाले अध्यक्षा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यस्ता सञ्चार माध्यमले सबैभन्दा बढी आक्रमण गरेका उहाँले बताउनुभयो । यसको विरुद्ध एमालेले निरन्तर आवाज उठाउँदै आएको रिजालले प्रष्ट पार्नुभयो । ‘मिडियाका साहुजीबाट भएका आक्रमणको प्रतिवाद गर्नु सञ्चार क्षेत्र माथिको आक्रमण होइन’, उहाँले भन्नुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्र सहइञ्चार्ज रचना खड्काले एमालेका सबै जनसंगठन स्पष्ट नीति र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो । खड्काले एमाले विरुद्धका घेराबन्दीलाई असफल गराउन जनवर्गीय संगठन खारिएर निस्किनु पर्ने बताउनुभयो ।
नेकपा एमालेको जनताप्रति धेरै उत्तरदायित्व भएको बताउँदै उहाँले त्यसको लागि योग्य पार्टी संगठन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेकपा एमाले जनताले सबैभन्दा धेरै विश्वास र भरोसा गरेको पार्टी हो, जनताले एमालेको विकल्प देखेका छैनन’, उहाँले भन्नुभयो ।
संगठनका अध्यक्ष गणेश बस्नेतले चौतारी विचार बोकेका व्यवसायी पत्रकारहरूको संस्था भएको बताउनुभयो । संगठनले विचार र व्यावसायिक मर्यादालाई एक साथ बढाउने बस्नेतले प्रष्ट पार्नुभयो । प्रेस चौतारी नेपाल जोसँग पनि वैचारिक, सांगठानिक र व्यावसायिक प्रतिस्पर्धा गर्न सक्षम रहेको उहाँले बताउनुभयो । प्रतिस्पर्धामा प्रेस चौतारीले श्रेष्ठता साबित गर्ने उहाँले दाबी गर्नुभयो ।
अझै पनि प्रेस चौतारीका नेता र सदस्यले ताकिए अनुसारको जिम्मेवारी समयमा नै सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसो गर्न सकियो भने प्रेस चौतारीले थप जनमत निर्माण गर्न सक्ने उहाँले बताउनुभयो । ‘जनमत निर्माणमा प्रेस चौतारीको भूमिका महत्त्वपूर्ण छ, प्रेस चौतारीसँग जुध्न आउने ल्याकत कसैले राख्दैनन’, उहाँले भन्नुभयो ।
आन्तरिक समस्याको पहिचान र सम्बोधनकै लागि कार्यशाला आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो । कार्यशालामा आएका सुझावलाई कार्यान्वयन गरी संगठनलाई अझ बलियो बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यशालामा नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह, नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस चौतारीका नेता केसी लामिछाने लगायतका नेताहरूले आफ्नो धारणा राख्नुभएको थियो भने प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराले स्वागत गर्नुभएको थियो । केन्द्रीय कार्यशालाको ब्यवस्थापन प्रेस चौतारी पर्सा शाखाले गरेको हो ।
कार्यक्रममा नेपालको पत्रकारिताको पेसागत समस्या, समस्या समाधानमा प्रेस चौतारीको भूमिका र प्रेश चौतारीलाई अब्बल संस्था बनाउने विधिका बारेमा समुहगत छलफल गरी सुझाव प्रस्तुत गरिएको थियो । कार्यशालाबाट १३ बुँदे बीरगञ्ज घोषणापत्र जारी गरेको छ ।