detail-img

प्रेस चौतारीको कार्यशालामा इञ्चार्ज गुरुङको निर्देशन : एमालेका नेताकार्यकर्ताले संगठनको शक्तिमा विश्वास गर्नुपर्छ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक अधिकारको पक्षमा बोल्ने र विचारलाई तरङ्गित पार्ने पहिलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) भएको बताउनुभएको छ । 
‘मिसन ग्रासरुट’ अन्तर्गत शनिबार प्रेस चौतारी नेपाल बाग्मती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशले भक्तपुरमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले एमालेले बोकेको विचार र दृष्टिकोणबाट नेपालमा कम्युनिष्ट आन्दोलन फस्टाइरहेको बताउनुभयो ।

संसारभरिका कम्युनष्टिहरू सङ्कटमा परेर लखेटिइरहेको अवस्थामा नेपालमा कम्युनिष्टले नै सरकार बनाउनु ठूलो उपलब्धि भएको चर्चा गर्दै जनताको बहुदलीय जनवादलाई जनताको बीचमा लैजानुपर्ने र त्यसको मर्मबारे मसिनोगरी बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
नेपालमा एमालेले माक्र्सको रुढीवादी विचार र सिद्धान्तलाई छोडेर सिर्जनात्मक कुरालाई अनुशरण गर्दा तत्कालीन समयमा कम्युनिष्टले निर्वाचन जित्नेमात्र नभई सरकार नै बनाउन सक्ने उपलब्धि हासिल भएको उपमहासचिव गुरुङको भनाइ छ ।

उहाँले भन्नुभयो– हामीले नेपालको परिस्थिति अनुसार माक्र्सको सिर्जनात्मक कुरालाई अनुशरण गरेर जनताको बहुदलीय जनवादी क्रान्ति गर्ने भन्यौँ । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई स्वीकार गर्ने भन्यौँ । नागरिकको अधिकार ग्यारेन्टी गर्ने भन्यौँ । मौलिक अधिकार ग्यारेन्टी गर्ने भन्यौँ । यसरी बोल्ने पहिलो कम्युुनष्टि पार्टी नेकपा (एमाले) हो । यो कुराले विचारको क्षेत्रमा ठूलो कम्पन सिर्जना गर्यो र त्यतिबेलै वा भनौँ छोटै समयमा त्यो उपलब्धि हासिल गर्यौँ । त्यसकारण जनताको बहुदलीय जनवाद (जबज)लाई जनताको बीचमा लैजानुपर्ने र त्यसको मर्मबारे जनतालाई मसिनोगरी बुझाउनुपर्ने आवश्यकता अझै रहेको उहाँको भनाइ छ ।

उपमहासचिव गुरुङले संगठन बलियो भयो भने जहाँ–जहाँ प्रभाव पर्नुपर्ने हो त्यहाँ नेतृत्व लिन सकिने चर्चा गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले संगठनको शक्तिमा विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । संगठनको शक्तिको मुख्य स्रोत भनेको विचार भएको बताउँदै कस्तो विचार र त्यसको उद्देश्य के हो भनेर आफू स्पष्ट हुँदै अरुलाई पनि स्पष्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

कार्यशालामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीका कुनै पनि सदस्य माथि कसैले आक्षेप लगाए सशक्त प्रतिवाद गर्ने बताउनु भयो ।शनिबार भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालको आफ्नै स्थापित मान्यता र परम्परा रहेको बताउनुभएको छ हो । प्रेस चौतारी नेपाल आफ्नो मूल्य र मान्यताबाट नडगमाउने उहाँले प्रष्ट पार्नुभयो ।

संगठनको कार्यक्रमलाई प्राथमिकता नदिने व्यक्ति प्रेस चौतारीमा नअटाउने पनि उहाँले प्रष्ट पार्नुभयो । यस विषयमा स्पष्ट हुन चौतारीका नेतालाई उहाँले आग्रह गर्नुभयो । प्रेस चौतारी नेपाल आबद्ध पत्रकारले प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसो गर्न सकिएन भने संगठनको साख गिर्ने उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष बस्नेतले प्रेस चौतारीमा अब नेताको फेरो समातेर नेता बन्न सकिंछ कि भन्ने सोच नराख्न सुझाव पनि दिनु भयो ।

यस्तै नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सचिव गगन  विष्टले विचार नबोक्ने संगठन सही दिशामा अघि बढ्न नसक्ने बताउनुभयो । विष्टले विचार र सिद्धान्त बोकेर मात्र गन्तव्यमा पुग्न सकिने बताउनुभयो । प्रेस चौतारीका सदस्यलाई जनतासम्म पार्टीका कुरा र विचार जस्ताको तस्तै पुर्‍याइदिन उहाँले आग्रह गर्नुभयो ।

‘काम गर्न नसक्ने व्यक्ति संगठनमा नबस्नुस्, काम गर्नेलाई ठाउँ छाडिदिनुस्, त्यसो भयो भने संगठन गतिशील हुन्छ’, उहाँले भन्नुभयो । नेकपा एमाले अहिले चौतर्फी घेराबन्दीमा रहेकोले पार्टीका विचार जनताका बिचमा कसरी पुर्‍याउने भन्ने कुरामा एमाले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक र शुभचिन्तकले ध्यान दिनुपर्ने विष्टले बताउनुभयो । जो जहाँ छ, त्यहीँ बसेर जिम्मेवारी पूरा गर्ने हो भने यो काम सम्भव हुने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले नेकपा एमाले प्रतिको शुभेच्छुकको धारणा सुन्न मिसन ग्रासरुट आयोजना गरिएको बताउनु भयो ।  पाण्डेले जनताका सरोकारका विषय बुझ्न पनि अभियान सञ्चालन गरिएको बताउनुभयो । जनताका सार्वजनिक जीवनमा सरोकार राख्ने विषय उहाँहरूको बिचबाट संकलन गर्न अभियान आयोजना गरिएको पाण्डेले बताउनुभयो । मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै पाण्डेले पार्टी संगठनमा कहाँ कहाँ समस्या छ भनेर हेर्न जरासम्म खोतल्नको लागि अभियान आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।


नेकपा एमाले विरुद्ध कतिपय सञ्चारमाध्यम नियोजित रूपमा लागेको बताउँदै उहाँले त्यसलाई चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेनद्र बिष्ट, पूर्वमहासचिव उजिर मगरलगायतका बक्ताहरुले प्रेस चौतारीले अव गर्नुपर्ने कामको बिषयमा सुझाव दिनुभएको थियो । पेस चौतारी नेपाल उपत्यका प्रदेशस बिष्णु आचार्यको अध्यक्षता र बागति प्रदेशका अध्यक्ष शरद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रतिष्ठान प्रदेशकी उपाध्यक्ष सुमित्रा भट्टराईले गर्नुभएको थियो ।